१४ जेठ, काठमाडौं ।

नेपालले आईटीबी चाइना–२०२६ मार्फत् अन्तर्राष्ट्रिय मञ्चमा आरोग्य र साहसिक पर्यटनको प्रवर्द्धन गरेको छ । चीनको आउटबाउन्ड पर्यटन बजार केन्द्रित प्रमुख बीटूबी ट्राभल ट्रेड प्रदर्शनी आईटीबी चाइना–२०२६ मे २६ देखि २८ सम्म सांघाई वर्ल्ड एक्स्पो एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टरमा सम्पन्न भएको हो ।
तीन दिने यस अन्तर्राष्ट्रिय कार्यक्रममा विश्वभरका पर्यटन बोर्ड, गन्तव्य व्यवस्थापन कम्पनी, ट्राभल ट्रेड व्यवसायी, टुर अपरेटर, खरिदकर्ता तथा सञ्चारकर्मी सहभागी भए । कार्यक्रमले अन्तर्राष्ट्रिय नेटवर्क विस्तार, व्यवसायिक सहकार्य तथा पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी मञ्च प्रदान गरेको आयोजकले जनाएको छ ।
नेपाल पर्यटन बोर्डले ‘नेचुरल्ली नेपाल : वान्स इन नट इनफ’ भन्ने विश्वव्यापी पर्यटन ब्रान्डसहित सांस्कृतिक महत्व झल्काउने गरी सजाइएको नेपाल प्याभिलियनमार्फत् कार्यक्रममा सक्रिय सहभागिता जनाएको थियो । नेपाल स्टलले ट्राभल ट्रेड व्यवसायी, टुर अपरेटर तथा सञ्चारमाध्यमको विशेष ध्यान आकर्षित गरेको बोर्डले जनाएको छ ।
कार्यक्रममा नेपालले आगामी वर्षको ‘भिजट नेपाल वेलनेस टुरिजम् एयर–२०२७’ अभियानलाई विशेष प्राथमिकताका साथ प्रवर्द्धन गरेको थियो । नेपाललाई विश्वस्तरीय आरोग्य, योग, ध्यान, प्राकृतिक उपचार तथा समग्र स्वास्थ्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहितको उक्त राष्ट्रिय अभियान चिनियाँ पर्यटन बजारमा केन्द्रित गरी प्रस्तुत गरिएको थियो ।