भाद्र २२, २०८३

भोटेकोशी र तल त्रिशूली नदीमा बाढी आएको १३औँ दिन सोमवारसम्म पनि झन्डै पाँच हजार मानिसहरू सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
सुरक्षा निकायहरूले चीनसँगको सीमासँग जोडिएको रसुवादेखि भारतसँगको सीमा जोडिएको नवलपरासी पश्चिमसम्म मानिसहरूको खोजी गरिरहेको बताएका छन्।
रसुवामा भोटेकोशी भनिने त्यही नदी नुवाकोट पुगेपछि त्रिशूली, चितवन देवघाटभन्दा तल्लो भूभागमा नारायणी र भारत प्रवेश गरेपछि गण्डक नदी भनेर चिनिन्छ।
सोमवार बिहानसम्म कम्तीमा १,३५५ जनाको शव वा पार्थिव अवशेष फेला परेको खोज, उद्धार तथा राहतको समन्वय गर्दै आएको उक्त सरकारी निकायले जनाएको छ। शवहरू फेला पर्ने क्रम जारी छ।
नेपाली सेना विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत विद्युत् गृह र हवाई मार्गबाट खोजी तथा उद्धारमा केन्द्रित छ। सशस्त्र प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को गण्डक नहरसम्म नदी किनारसम्म स्थलगत खोजी गरिरहेको छ।

सोमवार १३औँ दिनको खोजीका क्रममा चिलिमे जलविद्युत् आयोजनाको पावरहाउससम्म पुग्ने प्रयास हुने सैन्य प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।
उनका अनुसार यो आयोजनाको भूमिगत पावरहाउसभित्र जाने सुरुङमा हालसम्म १०० मिटर भन्दा अगाडि जान सकिएको थिएन।
“१०० मिटर भित्र गएपछि पूर्णरूपमा बन्द छ। त्यहाँभित्र जान मिनी एक्स्कभेटरले काम गरिरहेको छ। त्यहाँ अगाडिको भाग पूरै बाढीले तानेर लगेको भएर हेलिकप्टरले पनि सामान लैजान सक्दैन। त्यहाँ ल्यान्ड गर्न सक्दैन। अहिले त्यहाँ ब्लास्टिङ गरेर बाटो बनाएर थप एक्स्कभेटर जाने प्रयासमा छौँ,” प्रवक्ता बस्नेतले भने।