शेखर गिरी
जो धेरै अघि नै हुनुपर्ने थियो
अलि पछि भयो फरक यत्ति हो,
जे भयो–भयो अब राम्रो हुनेछ भनेर भन्नु पर्यो ।
अति नगर्नु अत्याचार नगर्नु
हो, अति नै अत्याचार बेथिति
भ्रष्टाचार भएकै हो
नातावाद कृपावाद भाइभतिजावाद
आफ्नोलाई पोसेकै हो
त्यसैले अलि बढी क्षति खति भयो
गुलाफको फूल रोज्दा
काँडा बिझ्ने नै भयो
कमलको फूल रोज्दा
हिलो दाग लाग्ने नै भयो
खुकुरीको धारमा हिँड्दा
रगत बग्ने नै भयो ।
त्यसैले जे भयो–भयो
अब राम्रो हुनेछ भन्नु पर्यो।
अब अत्याचार बेथिति भ्रष्टाचार
नातावाद कृपावाद भाइभतिजावादको
कुरै छाडौँ
अब कुनै पनि किसिमको
अति–अतिवाद
नहुनु पर्ने हो
जे भयो–भयो
अब राम्रो हुनेछ भनेर भन्नुपर्यो ।