डा.तोशीमा कार्की
स्तनपान बारे समाज धेरै भ्रमहरु छन्। तिनलाई हामी चिर्ने कोशिस गर्दैछौँ। बच्चा जन्मिएपछि आउने पहेंलो बाक्लो दूध बिगौती दूधलाई धेरैले फाल्ने गरेको पाईन्छ तर यो शिशुको पहिलो प्राकृतिक खोप हो। यसमा रोगसँग लड्ने शक्तिशाली प्रतिरक्षात्मक तत्व हुन्छन्। यसलाई कहिल्यै फाल्नु हुँदैन। सानो स्तन हुने आमाको दूध कम आउँछ भन्ने भ्रम छ तर हामीले बुझ्नुपर्ने कुरा के हो भने, स्तनको आकारले दूध उत्पादन निर्धारण गर्दैन। बरु शिशुले बारम्बार चुस्दा शरीरले आवश्यकताअनुसार दूध उत्पादन गरिरहेको हुन्छ। त्यसैले शिशुलाई पर्याप्त मात्रामा कम्तिमा दुई दुई घण्टामा दूध चुसाउनुपर्छ। स्तनपान गराउँदा आमालाई धेरै खानेकुराबाट बन्चित गर्न खोजिन्छ तर वास्तवमा स्तनपान गराईरहेकी आमाले झन् सन्तुलित, पोषिलो र पर्याप्त खाना तथा पानी सेवन गर्नुपर्छ। चिकित्सकले निषेध नगरेसम्म अधिकांश सामान्य खाना सबै खान सकिन्छ। बच्चा बिरामी हुँदा स्तनपान रोक्नुपर्ने होकी भन्ने भ्रम छ तर बच्चा बिरामी हँदा पनि स्तनपान रोक्नुहुदैन, बरु स्तनपान जारी राख्नुपर्छ। आमाको दूधले बच्चालाई संक्रमणसँग लड्न मद्दत गर्छ। विशेष अवस्था भए चिकित्सकको सल्लाह लिनुहोस्। स्तनपान सम्बन्धी केही महत्त्वपूर्ण जानकारी जन्मेको १ घण्टाभित्र स्तनपान सुरु गराउने।
६ महिनासम्म केवल आमाको दूध मात्र खुवाने।
६ महिनापछि पोषिलो थप आहार सुरु गर्दै २ वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिने। अटुट सत्य आमाको दूध शिशुको पहिलो खोप, पहिलो पोषण र पहिलो सुरक्षा हो ।
