Skip to main content

World Vision News

२०८३ श्रावण ३ गते आईतवार
२०८३ श्रावण ३ गते आईतवार

रास्वपाको मतदानमा भद्रगोल हुनुको कारण के हो?

चितवन, ११ असारराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतदान प्रक्रियामा विभिन्न प्रश्न उठिरहेका छन्। प्रारम्भिक रूपमा भोटिङ मेसिनप्रति आशंका गरिए पनि समस्या उम्मेदवारी व्यवस्थापन प्रक्रियामै रहेको खुलेको छ।

मतदानमा सहभागी प्रतिनिधि तथा उम्मेदवारहरूले भोटिङ मेसिनमा उम्मेदवारहरूको नाम न त वर्णानुक्रमअनुसार राखिएको छ, न उम्मेदवारी दर्ताको क्रमअनुसार नै देखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। साथै, विभिन्न क्लस्टरका उम्मेदवारहरूलाई अलग–अलग सूचीमा राख्नुपर्नेमा ६४ जनालाई एउटै सूचीमा समेटिएको भन्दै पनि प्रश्न उठाइएको छ।

रास्वपाका एक नेताका अनुसार भोटिङ मेसिनमा विवरण प्रविष्ट गर्न प्राविधिकलाई उपलब्ध गराइएको अन्तिम नामावलीमै त्रुटि भएको थियो। उनका अनुसार उम्मेदवारी दर्ताका क्रममा उम्मेदवारहरूले मधेशी खुला, मधेशी महिला, थारु, थारु महिला लगायत विभिन्न क्लस्टरमा उम्मेदवारी दिएका थिए। तर अन्तिम सूची तयार गर्दा ती क्लस्टरहरू छुट्याइएनन् र सोही सूची भोटिङ मेसिनमा प्रविष्टिका लागि प्राविधिकलाई उपलब्ध गराइयो।

ती नेताले भने, “६४ जनालाई खुला समूहकै सूचीमा राखेर अन्तिम विवरण प्राविधिकलाई दिइयो। उम्मेदवार कुन क्लस्टरमा थिए भन्ने विषय प्राविधिकहरूको जिम्मेवारीभित्र पर्दैनथ्यो। उम्मेदवारहरूको नाम कुन आधारमा क्रमबद्ध गरिएको थियो भन्ने विषय पनि उनीहरूको चासोको विषय थिएन। पार्टीले उपलब्ध गराएको सूचीअनुसार नै विवरण प्रणालीमा प्रविष्ट गरिएको हो।”

यसै कारण उम्मेदवारी दर्ताका क्रममा प्राप्त क्रमसंख्या र भोटिङ मेसिनमा देखिएको क्रमसंख्या नमिलेको भन्दै प्रतिनिधि तथा उम्मेदवारहरूले गुनासो गर्दै आएका छन्।

ती नेताका अनुसार उम्मेदवारी दर्ता व्यवस्थापनकै क्रममा अर्को समस्या पनि देखिएको थियो। एउटै क्लस्टरका फाराम तीन फरक स्थानबाट वितरण तथा संकलन गरिएकाले एउटै सिरियल नम्बर पटक–पटक दोहोरिने अवस्था सिर्जना भएको थियो।

स्रोतका अनुसार, “एउटै क्लस्टरका फाराम तीन स्थानबाट वितरण गरिएकाले एउटै सिरियल नम्बर तीन–तीन पटक दोहोरियो। पछि ती सबै सूची एकीकृत गर्दा सुरुमा रहेका केही उम्मेदवारहरू धेरै पछाडि पुग्ने अवस्था बन्यो। अहिले देखिएको समस्या त्यसैको परिणाम हो।”

उनले यो अवस्था अनुभवको कमी तथा निर्वाचन व्यवस्थापन प्रक्रियामा पर्याप्त समन्वय नहुँदाको परिणाम भएको बताए।

रास्वपाले नयाँ कार्यसमिति चयनका लागि राम–लक्षमण भोटिङ मेसिन प्रयोग गरेको छ। उक्त मेसिन यसअघि नेकपा एमाले को महाधिवेशनसहित अन्य राजनीतिक दल तथा संस्थाहरूले पनि प्रयोग गर्दै आएका छन्।

महाधिवेशनमा देखिएको विवादबारे भोटिङ मेसिनको प्राविधिक पक्षबाट भने हालसम्म आधिकारिक धारणा सार्वजनिक भएको छैन। यस विषयमा जिज्ञासा राख्दा राम–लक्षमण भोटिङ मेसिनका प्राविधिक रामप्रसाद रिमाल ले पछि प्रतिक्रिया दिने बताएका छन्।

मतदान प्रक्रिया, उम्मेदवार सूचीकरण तथा क्लस्टर व्यवस्थापनसम्बन्धी उठेका प्रश्नहरूबारे पार्टीको आधिकारिक धारणा आउन बाँकी छ।


By World Vision News

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.