अशोका थापा

काठमाडौँ : नेपालको केन्द्रीय राजधानी काठमाडौँ स्थित त्रिदेवीमार्ग सार्कभवन अगाडी ठमेलमा ऐतिहासिक र शास्त्रीय शैलीमा निर्माण गरिएको एउटा स्वप्निल बगैंचा छ : जसको नाम नै स्वप्न बगैंचा हो। यो बगैंचा ६ वटा ऋतुहरूको बगैंचाको रूपमा चर्चित छ । जहाँ एकै बगैंचाभित्र ६ वटा ऋतुहरूको लहरै दृश्यहरू आफ्नै आँखाले कैद गर्न सकिन्छ। बगैंचा भित्रको दृश्य नियाल्दा त्यहाँ जाने जो कोहिलाई पनि म लौकिक संसारमा छु कि अलौकि संसारमा छु भनेर क्षणभरमै मोहित बनाउँछ । सन् १९२० मा स्वर्गीय फिल्ड मार्शल केशर समशेर ज.ब.रा. ले यो बगैंचामा विशेषत ६ वटा ऋतुहरू अनुसारका ६ वटै सदनहरू (आराम गृह) को संयोजन गरी युरोपियन ( इडवार्डीयन) शैलीबाट प्रभावित भएर निर्माण गराएका थिए। सन् १९०७ मा सिंह दरवारको संरचना निर्माण गर्ने प्रसिद्ध वास्तुविद् किशोर नरसिंह र कुमार नरसिंह राणाले स्वप्न बगैंचाको पनि डिजाईन र सुपरिवेक्षण गरेका थिए। बगैंचा निर्माण गर्दा सदनहरू, झरनाहरू, पोखरीहरू युरोपियन शैलीबाट प्रभावित बरन्डाहरू र चराहरू बस्ने घर समेत समावेश गरिएको छ । त्यसो त एकातिर स्वन बगैंचा भित्रका विभिन्न सदनहरूले वास्तुकलाको अनुपम नमुना प्रस्तुत गर्दछन् भने अर्कातिर यस भित्रका फूलहरूले, बुट्यानहरूले र रूखहरूको संयोजनले बगैंचालाई त्यतिकै सौन्दर्यता दिएको छ। यस बगैंचाको परिकल्पनाकार र निर्माता केशर समशेरको मृत्युपछि यो बगैंचा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। तर यसको महत्वनुसार संरक्षण गर्न सकिएन। अत: यस बगैंचाको ऐतिहासिक र शास्त्रीय महत्वलाई बुझेर दातृनिकायको सहयोगमा यस स्वप्न बगैंचाको पुनर्निर्माण गरिएको थियो । सन् २००० मा शुरू भएको पुनर्निर्माण कार्य ऐतिहासिक तथा आधुनिक सुविधाहरू सहित थप गरी सन् २००७ डिसेम्बरमा पुरा भएको थियो ।विदेशी तथा स्वदेशी पर्यटकहरूको आकर्षण रहेको स्वप्न बगैंचाको पुनर्निर्माण परियोजना अष्ट्रियन सरकारको आर्थिक सहयोगमा इको हिमाल नामक गैह्र सरकारी संस्थाले गरेको कार्यान्वयन गरेको थियो । बगैंचा आफैमा आत्मानिर्भर रहेको सो बगैंचासँग सम्बन्धित अधिकारीहरूले बताउँछन्। २०७२ बैशाख १२ गते नेपालमा आएको विनाशकारी भुकम्पले बगैंचाको भौतिक संरचनामा पु¥याएको क्षति भने हाल पुनर्निर्माण गरिएको छ।
शान्ति र स्वर्गको रूपमा परिचित स्वप्न बगैंचा एउटा शान्त, आकर्षक पर्यटकीय केन्द्र हुनुको अतिरिक्त प्राकृतिक संग्रहालयको रूपमा समेत चर्चित यो बगैंचाका विविध विशेषताहरू छन् :१. मुख्य रेष्टुरेण्ट २. वसन्त सदनमा टी सैलुन ३. अर्ध चन्द्राकार पोखरीमा परगोला ४. बर्खा सदनमा बार ५. ग्रीष्म सदन ६. गोलो सदन ७. खुल्ला नाट्यशाला ८. असारे बगैंचा ९. कार्यालय र फोटो ग्यालरी १०. केशर महल / केशर पुस्तकालय हाल नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत स्वायत्त संस्थाको रूपमा रहेको यो संस्थाको रूपमा यो संस्था विकास समिति ऐन र गठन आदेश अनुसार शिक्षा सचिवको अध्यक्षतामा गठित ७ सदस्यीय स्वप्न बगैंचा विकास समितिले यसको व्यवस्थापन गर्दै आएको छ। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभीड-१९ को कारण पहिलो र दोश्रो लकडाउनको अवधिमा पूर्ण रूपमा बन्द गरिएको सो बगैंचामा हाल प्रवेशको लागि पूर्ण रूपमा खुल्ला गरिएको छ। दैनिक विहान ९ : ०० बजेदेखि बेलुका १०: ०० बजेसम्म स्वप्न बगैंचा खुल्ला रहने गरेको छ।

