World Vision News

२०८३ बैशाख ६ गते आईतवार
२०८३ बैशाख ६ गते आईतवार

केपी ओली र कृष्णबहादुर महराको नाममा जलाइएका दाङका दुई होटल

जेन–जी आन्दोलन क्रममा प्रदर्शनकारीहरूले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराको नाम जोडेर दाङका दुई होटलमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए।

तर यथार्थमा यी दुवै होटलसँग ओली र महराको कुनै सम्बन्ध छैन।

हामी कुरा गर्दै छौं, घोराहीको ‘माला इन होटल’ र तुलसीपुरको ‘कोमल रिसोर्ट’ को।

तीनतारे माला इन होटलका सञ्चालक ५२ वर्षीय ओबिन्द्रबहादुर महरा हुन् भने कोमल रिसोर्टकी सञ्चालक चर्चित लोकगीत गायक कोमल ओली हुन्। न ओबिन्द्रको कृष्णबहादुर महरासँग कुनै नाता छ, न कोमलको केपी ओलीसँग साइनो छ।

ओबिन्द्रका अनुसार भदौ २४ को लुटपाट र आगजनीबाट २ करोड ८२ लाख रूपैयाँ बराबर क्षति पुगेको छ। मदिरा र पिय पदार्थ मात्र २१ लाख बराबरको लुटिएका छन्। होटलको प्रत्येक कोठाबाट टिभी चोरिएको छ। पकाउने भाँडादेखि प्लेट, काँटा र चम्चा पनि लगिएका छन्।

अन्दाजी ५० वर्षीय एक व्यक्तिले एउटा हातमा खसीको साँप्रा र अर्को हातमा मदिराको बोतल होटलबाट लैजाँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल नै भएको थियो।

त्यस्तै, होटलको काउन्टरबाट ५ लाख ७० हजार रूपैयाँ नगद, होटलका चारवटा ल्यापटप र ग्राहकका तीनवटा ल्यापटप लुटपाटमा परेका थिए।

ओबिन्द्रले यति ठूलो नोक्सान बेहोर्नुको कारण एउटै छ — माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरासँग थर मिल्नु।

त्यही कारणले आफ्नो होटलमा महराको लगानी रहेको आशंका गर्दै प्रदर्शनकारीहरूले आक्रमण गरेको ओबिन्द्र बताउँछन्।

‘मैले रोल्पाबाट झरेर वर्षौंको मिहिनेतपछि यो होटल खोलेको हुँ,’ उनले भने, ‘कृष्णबहादुर महरासँग थर मिल्नु संयोग मात्र हो। उहाँसँग मेरो कुनै नाता छैन। यो होटलमा उहाँको एक सुका लगानी पनि छैन।’

By World Vision News

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.