World Vision News

२०८३ जेष्ठ २१ गते बिहीबार
२०८३ जेष्ठ २१ गते बिहीबार

विदेशमा के छ ?

                                                           के. बी. चलाउने / सल्यान

देशमै हुँदा,
सानो छँदा
सोच्छु म— विदेशमा
पैसाको रुख छ।

मनमोहक चिल्ला सडक,
गगनचुम्बी भवन,
झिलिमिली हरेक गल्ली,
जताततै सुख छ।

स्वदेशमा बस्ने हरेक नेपाली
घरीघरी यही सोच्छ—
महँगा गाडी, मिठो खान्की,
विदेशका हरेक कुनामा मोज छ।

सुख–सयलको सपनामा
आफ्नै पैसाले
आफैँलाई राजीखुसी बेच्छ।

बाध्यताको भारीले थिचिएको
एउटा भरिया
हरपल खुसी
विदेशका गल्लीगल्ली खोज्छ।

ए सरकार ! भन त,
आज हरेक युवा
देशभन्दा पहिले
परदेश किन रोज्छ?

अहिले परदेशमा हुँदा,
आफैले भोग्दा
विदेशका हरेक सहरभित्र
पैसाको रुख होइन,
दुःखका अनेक चित्र छन्।

लेखक अंग्रेजी विषयका पूर्व प्राध्यापक  र  हाल अमेरिकावासी हुनुहुन्छ : सम्पादक 

By World Vision News

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.