विनाशकारी बाढीबाट प्रभावित नेपालका नागरिकका लागि कतारले आपत्कालीन मानवीय सहायता पठाएको छ। कतारबाट राहत सामग्री लिएर आएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । विमानमार्फत ल्याइएका राहत सामग्री कतार सरकारका तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।
कतार सरकारले उक्त राहत सामग्री नेपाल सरकारका विज्ञान प्रविधि तथा नवपरवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेको वताईएको छ ।
राहत सामग्रीमा राखिएको विवरणअनुसार कतारले यो सहयोगलाई ‘कतारी मानवीय सहायता, नेपालका बाढी प्रभावित समुदायका लागि, २०२६’ का रूपमा उपलब्ध गराएको हो। राहत सामग्रीसँग राखिएको ब्यानरमा नेपाल र कतारको झन्डासहित दुवै मुलुकबीचको सहयोग र ऐक्यबद्धता झल्काइएको थियो।
भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्र प्रभावित भएपछि कतार सरकारले नेपाललाई अत्यावश्यक मानवीय सहायता उपलब्ध गराएको हो।
बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र प्रभावित नागरिकको व्यवस्थापनको काम भइरहेको छ। यही क्रममा विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय निकायबाट नेपाललाई राहत तथा उद्धार सामग्री प्राप्त भइरहेको छ।
कतारले पनि विपद्को समयमा नेपाल र नेपाली जनताप्रति ऐक्यबद्धता जनाउँदै बाढी प्रभावित समुदायका लागि मानवीय सहायता पठाएको हो। कतारबाट आएको सहायता सामग्री अब बाढी प्रभावित क्षेत्रमा राहतका लागि परिचालन गरिनेछ।
