Skip to main content

World Vision News

बालबच्चालाई किन धेरै रिस उठ्छ ?

काठमाडौं । स-साना कुरामा बच्चाहरु रिसाइरहेको हामी देख्छौं । आफूले भनेको सानो कुरा पाएनन् भने पनि उनीहरु रिसाइहाल्छन् । बच्चाहरु सानो कुरामा रिसाउने मात्रै नभई सानै कुरामा खुसी पनि भइहाल्छन् । बालबच्चामा वयस्कको तुलनामा संवेग पनि सजिलै देखिन्छ । बच्चालाई आफ्नो भावना कसरी अभिव्यक्त गर्ने भनेर थाहा हुँदैन, जसकारण उनीहरुले आफ्नो कुरा राम्रोसँग बुझाउन सक्दैनन् । त्यसैले उनीहरु कि रिसाउँछन्, कि त रुन थाल्छन् ।

बालबालिकामा संवेगहरूको विकास दुईदेखि ६ वर्षको उमेरमा हुन्छ । तर जसरी वयस्कहरूमा संवेगलाई नियन्त्रण गर्ने क्षमता हुन्छ, त्यो बच्चामा हुँदैन । त्यसैले बच्चाहरू छिटो रिसाउने झर्किने गर्छन् । साथै बच्चामा संवेगको समय पनि छिटो छिटो परिवर्तन हुने मनोविद् डा. नरेन्द्रसिंह ठगुन्ना बताउँछन् । किन धेरै रिसाउँछन् बच्चा ?बच्चाहरूमा केही प्रमुख संवेगहरूको विकास त झन् गर्भावस्थामा र जन्मिनासाथ हुने ठगुन्ना बताउँछन् । ‘दुईदेखि ६ वर्षको उमेरमा भने बालबालिकामा प्रायः सबै प्रकारका संवेगको विकास हुन्छ, त्यसैले त्यो उमेरमा बच्चाहरू बढी रिसाउने र बढी झर्किने गर्छन्,’ ठगुन्ना भन्छन् ।

उनी अगाडि भन्छन्, ‘बच्चा गर्भावस्थामा हुँदा आमाबुबाको सम्बन्ध कस्तो छ, आमाको मनोदशा कस्तो छ र बच्चा गर्भमा हुँदा आमाले धुम्रपान, मद्यपानलगायत नशाजन्य वस्तुको प्रयोग गरेको छ कि छैन ? त्यही अनुसार बच्चाको विकास हुन्छ । बच्चाको व्यक्तित्व कस्तो हुने भन्ने कुरा त्यसले पनि निर्धारण गर्छ ।’ बच्चाहरू अभिभावकसँग कति नजिक छन् भन्ने कुराले पनि उनीहरूको संवेग कम वा बढी हुन्छ । यदि बच्चा अभिभावकसँग धेरै नजिक छैन भने आफ्नो कुरा खुलेर अभिभावकलाई भन्न सक्दैन भने बच्चाहरू सानो सानो कुरामा रिसाउने झर्किने गर्ने ठगुन्ना बताउँछन् ।

‘परिवारमा बच्चाको हुर्काइ कस्तो छ ? परिवारको वातावरण कस्तो छ, त्यसले पनि बच्चाको संवेगहरू परिवर्तन हुन्छन् । यदि परिवारका ठूला व्यक्ति बच्चाको अगाडि झर्किन्छन्, रिसाउँछन् भने बच्चाले पनि त्यो सिक्ने भए,’ उनी भन्छन् । बच्चाको भावनालाई अभिभावकले कति महत्व दिएका छन् भन्ने कुराले पनि फरक पार्छ । ठगुन्ना भन्छन्, ‘यदि बच्चा कुनै कुरामा रिसाएको छ भने अभिभावकले त्यो कुरामा झन् जिस्कायो वा उसलाई रिसाउनुको कारण के हो भनेर सोधिएन भने बच्चा झन् धेरै रिसाउने हुन्छ ।’ यदि घरमा दुई तिन जना बच्चाहरू छन् । अभिभावकले एउटा बच्चालाई अलि बढी महत्त्व दियो र अर्कोलाई कम महत्त्व दियो भने पनि बच्चाहरू धेरै रिसाउने ठगुन्ना बताउँछन् । ‘अभिभावकले मलाई महत्त्व दिएका छैनन् मैले रिस देखाए भने मलाई महत्त्व दिन्छन् भन्ने हुन्छ ।’

बच्चाको रिसलाई कसरी नियन्त्रण गर्ने ?
दुईदेखि ६ वर्षका बालबालिका अन्य उमेर समूहका बालबालिका भन्दा बढी रिसाउँछन् भने त्यो त सामान्य हो । ‘तर जेनेटिक र बायोलोजिकल कारणले बच्चाहरू बढी रिसाउँछन् भने त्यसलाई परिवर्तन गर्न उनीहरूको व्यवहारलाई परिमार्जन गर्नुपर्छ । तिमीले गलत व्यवहार गर्‍यौ भने तिमीले एक हप्ता खेल्न जान पाउँदैन भनियो भने उनीहरू खेल्नको लागि कम रिसाउने गर्छन्,’ ठगुन्ना भन्छन् । बच्चालाई सामाजिक संवेगात्मक सिकाइहरू सिकाउने, सामाजिक कार्यमा सहभागी गराउने, माया दिने, सकारात्मक कुरा सिकाउने र सकारात्मक कुरा गर्न लगाउने, नकारात्मक व्यवहारको प्रभाव कस्तो हुन्छ भन्ने कुरा पनि सिकाउनुपर्ने ठगुन्ना सुझाउँछन् ।

बच्चाको सहयोगी बन्ने, उसलाई के कुरामा धेरै रिस उठ्छ किन उठ्छ भनेर सोध्ने र उनीहरूको कुरा सुनिदिने गरियो भने पनि बच्चाको रिस बिस्तारै कम हुँदै जान्छ । ठगुन्ना भन्छन्, ‘रिसाएको बेला उसलाई बोलायो चलायो भने अझै रिसाउन सक्छ । त्यसैले बच्चा अस्वाभिवक रूपमा धेरै रिसाउँछन् भने उनीहरू रिसाएको बेला उनीहरूलाई एक्लै छोड्दिने गर्दा आफैं शान्त हुन्छन् ।’

By World Vision News

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.