Skip to main content

World Vision News

२०८३ श्रावण ३ गते आईतवार
२०८३ श्रावण ३ गते आईतवार

काभा च्याम्पियनसिपमा स्थान नपाएपछि धनबहादुर भट्टले सार्वजनिक गरे भावुक सन्देश

आगामी जुलाई १७ देखि माल्दिभ्समा सुरु हुन लागेको काभा (CAVA) क्लब भलिबल च्याम्पियनसिपको तयारी तीव्र बन्दै जाँदा, नेपाली खेलप्रेमीहरूबीच एक प्रश्नले चासो र बहस सिर्जना गरिरहेको छ— किन राष्ट्रिय टोलीका अनुभवी खेलाडी धनबहादुर भट्टलाई सहभागी टोलीमा समावेश गरिएन?

यसैबीच, त्रिभुवन आर्मी क्लबका स्टार खेलाडी भट्टले आफ्नो अनुपस्थितिका सम्बन्धमा सामाजिक सञ्जालमार्फत एक खुला सन्देश जारी गरेका छन्। सामाजिक सञ्जालमा आफूलाई प्रश्न गर्ने, साथ र मायाको वर्षा गर्ने सम्पूर्ण समर्थकप्रति आभार व्यक्त गर्दै उनले भावुक अभिव्यक्ति दिएका छन्।

भट्टका अनुसार, यसपटक आफ्नो प्रतिनिधित्व हुने सम्भावना रहेको क्लबले पाकिस्तानका खेलाडीलाई प्राथमिकता दिएको छ, जुन निर्णयलाई उनले उच्च सम्मानका साथ स्विकारेका छन्। उनका शब्दमा, “पाकिस्तानी खेलाडीहरू मभन्दा सबै हिसाबले अब्बल थिए, त्यसैले उनीहरू चयन हुनु स्वाभाविक हो।”

भट्टले थप प्रष्ट पारेका छन् कि यस निर्णयप्रति उनी पूर्णरूपमा सन्तुष्ट छन् र खेल क्षेत्रमा यस्ता अवसरहरूले दुई देशबीचको मित्रता प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्। त्यस्तै, नेपाली क्लबबाट खेल्न गएका युवा खेलाडीहरूको सफलताको कामना गर्दै उनले भनेका छन्, “हामी सबै मिलेर नेपाली भलिबललाई अगाडि बढाउनु पर्छ।”

आफ्नो भूमिकाबाट अलग राखिएको विषयमा उनले कुनै गुनासो नगरी, समर्पण र खेल भावना देखाउँदै, चयन भएका खेलाडीहरूप्रति शुभकामना दिएका छन्। “राष्ट्रको झण्डा फर्फराएर, नेपाललाई गर्व दिलाएर फर्कनुहोस्” भन्ने उनको सन्देशले देशप्रेम झल्किएको छ।

सामाजिक सञ्जालमा देखिएको आलोचनालाई सम्हाल्दै उनले आग्रह पनि गरेका छन्— “कृपया कसैले पनि क्लब वा प्रशिक्षकप्रति अमर्यादित टिप्पणी नगर्नुहोस्, किनभने निर्णय कुनै पनि एक व्यक्तिको हैन, सामूहिक हो।”

अन्त्यमा, आफ्ना शुभचिन्तकहरूलाई धन्यबाद दिँदै उनले भविष्यमा भलिबल जगतमा नयाँ अनुहारहरू देखिने आशा व्यक्त गरेका छन् र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबलाई पनि आगामी सफलताको अग्रिम शुभकामना दिएका छन्।

नेपालको भलिबलमा अनुशासन, समर्पण र सकारात्मक ऊर्जा फैलाउने काम भट्टको यो अभिव्यक्तिले गरेको छ भन्नेमा दुई मत छैन।

 

 

By World Vision News

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.