Skip to main content

World Vision News

२०८३ श्रावण २ गते शनिबार
२०८३ श्रावण २ गते शनिबार

संयुक्त राज्य अमेरिकाले विदेशी विद्यार्थीका लागि भिसा प्रक्रियामा थप कडाइ गर्ने निर्णय सार्वजनिक गरेसँगै अमेरिकामा उच्च शिक्षा अध्ययन गर्ने योजना बनाएका नेपाली विद्यार्थीहरूमा चिन्ता बढेको छ। नयाँ नियम लागू हुनुअघि नै नेपालबाट अमेरिका अध्ययनका लागि जाने विद्यार्थीको संख्या उल्लेख्य रूपमा घट्दै गएको सरकारी तथ्याङ्कले देखाएको छ।

अध्यागमन विभागका अनुसार, सन् २०२६ मा अध्ययनका लागि विदेशिएका करिब ६६ हजार नेपालीमध्ये केवल १,६७१ जना मात्र अमेरिका पुगेका छन्। यो संख्या अघिल्ला वर्षहरूको तुलनामा निकै कम हो।

यसअघि सन् २०२४ मा अध्ययनका लागि विदेशिएका लाख ३३ हजारभन्दा बढी नेपालीमध्ये १४,२०५ जना अमेरिकाको रोजाइमा परेका थिए। त्यस्तै, सन् २०२५ मा विदेश अध्ययनका लागि गएका लाख १९ हजारभन्दा बढी नेपालीमध्ये ८,१२३ जना अमेरिका पुगेका थिए। यसले पछिल्ला वर्षहरूमा अमेरिका अध्ययनका लागि जाने नेपाली विद्यार्थीको संख्या लगातार घटिरहेको स्पष्ट संकेत गर्छ।

यसै साताको सुरुवातमा अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले अन्तर्राष्ट्रिय विद्यार्थी लक्षित थप कडा भिसा सम्बन्धी प्रावधानहरू सार्वजनिक गरेको छ। नयाँ नियमले भिसा प्रक्रियालाई अझ कठोर बनाउने अपेक्षा गरिएको छ, जसका कारण अमेरिकामा अध्ययन गर्ने योजना बनाइरहेका धेरै नेपाली विद्यार्थी प्रभावित हुन सक्ने विश्लेषण गरिएको छ।

सरकारी अधिकारीहरूका अनुसार नेपाली विद्यार्थीहरूले अमेरिकी आप्रवासन नीतिलाई सम्मान गर्दै आएका छन्। उनीहरूले विद्यार्थीले भोग्नुपर्ने चुनौतीलाई सम्बोधन गर्न शिक्षा कूटनीतिलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको बताएका छन्।

यद्यपि, अमेरिकाप्रति नेपाली विद्यार्थीको आकर्षण अझै कायम छ। इन्स्टिच्यूट अफ इन्टरन्याश्नल एजुकेशन (IIE) को ओपन डोर्स २०२४/२५ प्रतिवेदनअनुसार नेपाल अमेरिकामा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने देशहरूको सूचीमा छैटौँ स्थानमा रहेको थियो। सो अवधिमा २४,८९० नेपाली विद्यार्थी अमेरिकी विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत थिए।

नयाँ भिसा नीतिले भविष्यमा नेपाली विद्यार्थीको अमेरिका अध्ययन यात्रामा कस्तो प्रभाव पार्छ भन्ने विषय अब शिक्षा क्षेत्र र विद्यार्थी दुवैका लागि चासो रहेको छ।

Source : BBC, Nepali

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.